आइतबार मङ्सिर २२, २०७६/ Sunday 12-08-19

उपाधि होडमा बलियो हुँदै लिभरपुल, टोटनह्यामको शानदार जित

लिभरपुल जारी सिजनमा इंग्लिस प्रिमियर लिगको उपाधि होडमा बलियो देखिएको छ । १६ खेलसम्म अपराजित रहेको लिभरपुलले गएराति बर्नमाउथलाई ३–० ले हराउँदै उपाधि यात्रा अझै सहज बनाएको हो ।

बर्नमाउथको मैदानमा लिभरपुललाई जित दिलाउन एलेक्स ओक्लेड–चेम्बरलेन, नाबी केइता र मोहम्मद सालहले गोल गरे । चेम्बरलेनले ३५ औं, केइताले ४४ औं र सलाहाले ५४ औं मिनेटमा गोल गर्दै लिभरपुललाई जित दिलाए ।

जितपछि शीर्ष स्थानको लिभरपुलले दोस्रो स्थानको लेस्टर सिटीसँगको अंक दूरी ११ बनाएको छ । लिभरपुलको १६ खेलबाट ४६ अंक भएको छ भने १५ खेलबाट ३५ अंक जोडेको लेस्टर सिटी दोस्रो स्थानमा छ ।

गएराति नै भएको अर्को खेलमा जोसे मोरिन्होको टोटनह्यामले बर्नलीमाथि ५–० को शानदार जित दर्ता गरेको छ ।

घरेलु मैदानमा टोटनह्यामले पहिलो हाफमा तीन र दोस्रो हाफमा दुई गोल गरेको हो । उसका लागि ह्यारी केनले २ तथा लुकास मोउरा, सन हेङ्ग–मिन र मोउसा सिसोकोले एक एक गोल गरे ।

जितपछि टोटनह्याम १६ खेलबाट २३ अंकसहित छैटौँ स्थानमा उक्लिएको छ।

शनिबार राति नै भएको खेलमा चौथो स्थानको चेल्सी एभर्टनसँग पराजित भयो । अवे मैदानमा भएको खेलमा चेल्सी एभर्टनसँग ३–१ ले पराजित भएको हो । यस्तै अर्को खेलमा वाट्फोर्ड र क्रिष्टल प्यालेसले गोल रहित बराबरी खेलेका छन् ।