संरक्षित क्षेत्र हुनुपर्ने लाप्चा समुदायको माग

इलाममा मात्र बसोबास गर्ने लोपोन्मुख सूचीमा रहेका लाप्चा समुदायले स्थानीय निकायको पुनःसंरचना गर्दा लाप्चा समुदायको संरक्षित क्षेत्र हुनुपर्नेमा जोड दिएका छन् । स्थानीय तहको नामाकरण गर्दा लाप्चा जातिको ऐतिहासिकतालाई ध्यान दिँदै गाउँपालिका, नगरपालिकाकोे नामाकरण गर्दा लाप्चा जातिको ऐतिहासिक थाँतथलोलाई आधार बनाउनुपर्ने र लाप्चालाई संरक्षित क्षेत्र हुनुपर्नेमा जोड दिएका हुन् । स्थानीय पुनःसंरचनामा लोपोन्मुख रोङ लाप्चा समुदायको स्वायत्त क्षेत्र विशेष संरक्षित क्षेत्रका संरचनागत अवधारणासम्बन्धी छलफल कार्यक्रममा लाप्चा उत्थान मञ्च फिक्कलका अध्यक्ष वीरबबहादुर लाप्चाले इलामका विभिन्न गाविस र नगरपालिकामा बसोबास गर्ने लाप्चा समुदायसँग सम्बन्धित तथा लाप्चाको ऐतिहासिकतालाई आधार मानेर स्थानीय तहको नामाकरण हुनुपर्ने बताउनुभयो । इलाम जिल्लाको स्थानीय निकायको पुनःसंरचनामा प्रस्तावित तहको सीमाङ्कनमा आफ्नो समुदायको कुनै असहमति नरहे पनि सो क्षेत्रको नामाङ्कन गर्दा भने लाप्चा समुदायको ऐतिहासिक पृष्ठभूमिलाई ख्याल गर्नुपर्ने उहाँको भनाइ छ । लाप्चा जातिको बसोबास नरहेका क्षेत्रको नामाकरण गर्दा समेत विशेष संरक्षित क्षेत्र, गाउँपालिका र नगरपालिकामा समावेश भएका वडाको नामाकरण लाप्चा जातिकै भाषाबाट राख्नुपर्ने माग लाप्चा समुदायको छ ।