धनकुटा चानुवाका एक शिक्षक बेपत्ता

आफन्तको मलामी गएका धनकुटाको चानुवाका एक शिक्षक एक महिनायता बेपत्ता छन् ।
    स्थानीय वीरेन्द्र प्राविमा अध्यापन गराउने चानुवा–१ रुपटारका ४७ वर्षीय भीमबहादुर चापागाईं एक महिना बितिसक्दा पनि अझै फेला नपर्दा परिवारमा चिन्ता र अन्यौल छाएको छ ।
    रूखबाट लडेर आफन्त १३ वर्षीय रेशन चापागाईंको मृत्यु भएपछि मलामी जान भनी गत जेठ १८ गते शिक्षक चापागार्इं अरुणघाट गएका थिए ।
    डालेघाँस काट्ने क्रममा रूखबाट लडेर गम्भीर घाइते भएका रेशनको उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो । मृत्युपश्चात् दाहसंस्कारका लागि लेगुवाघाटमा मृतकको शव लगिएको थियो ।

शिक्षक चापागाईं पनि आफन्त पर्ने रेशनको दाहसंस्कारका लागि अपराह्न घाटतर्फ गएका हुन् । तर उनी घाट नै नपुगी बाटैबाट बेपत्ता भए । बेपत्ता भएको एक महिना बितिसक्दासम्म पनि चापागाईंका बारेमा कुनै अत्तो–पत्तो नभएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब निरीक्षक दिनेश अधिकारीले बताउनुभयो ।