बंगाली पर्यटक भित्र्याउन कोलकत्तामा ‘चलो इलाम’ अभियान

img-featured

            
 ‘पर्यटक आएर मात्रै पुग्दैन हामीलाई खर्च गर्ने पर्यटक चाहिएको छ’–भारतको कोककत्तास्थित बाणिज्य दूतावासका निमित्त बाणिज्य दूत  चन्द्रप्रसाद घिमिरेले कोलकत्तामा पर्यटक खोज्दै पुगेका इलामेसँग भने–‘घुम्न शौखिन र खर्चालु पर्यटक बंगाली नै हुन ।’ बंगाली पर्यटक नेपाल भित्र्याउन सके धेरै फाइदा लिन सकिने बाणिज्य दूताबासमा भएको छलफल कार्यक्रममा उनले बताए ।
  आन्तरिक पर्यटकले धानेको इलाममा बंगाली पर्यटक भित्र्याउन प्रचार–प्रसारका निम्ति त्यहाँ पुगेको टोलीले इलाम घुम्न आउन बंगाली समुदायलाई निम्तो दिएर फर्किएका छन् । इलाम पर्यटन सरोकार समितिको अगुवाईमा भएको ‘चलो इलाम’ नामक प्रचार–प्रसार अभियानमा जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, होटल ब्यवसायीदेखि सञ्चारकर्मीसम्मको उपस्थिति थियो । कोलकत्तास्थित निको पार्कमा आयोजित कार्यक्रममा इलामेलीले पर्यटन ब्यवसायी र स्थानीयलाई समेत इलाम घुम्न आउन निम्त्याए । इलामका पर्यटकीय क्षेत्रहरुको बारेमा जानकारी दिंदै गरिएको यस्तो मिम्तो स्वीकार्नेहरु निकै देखिए । 
  कलकत्तास्थित टुर एण्ड ट्राभल्स इञ्चार्जर मानव लहरीले सन् २०१६ भित्रैमा १३० सदस्यीय टोलीलाई इलाम भ्रमणमा ल्याउने प्रतिवद्धता जनाए । बर्षेनि ‘आँगन छोडिए’ नामको घुमघाम कार्यक्रम गर्दै आएको हर्नविल ट्राभल्स एजेन्सीका सञ्चालक सञ्जय दत्त इलामेली समूह बसेको हिरा होलिडे इन होटलमा नै पुगेर पर्यटकीय क्षेत्रहरुको बारेमा थप जानकारी दिन पुगेका थिए । ‘हाम्रा लागि इलाम भर्जिन ल्याण्ड नै रहेछ’–इलामका पर्यटन ब्यवसायीबाट जानकारी लिंदै दत्तले भने–‘म आफू आएर पर्यटकीय क्षेत्र घुम्छु, त्यसपछि प्याकेज बनाएर घुम्न चाहनेलाई त्यहाँ पु¥याउने हो ।’ अर्को ट्राभल्स एजेन्सी चलाउँदै आएकी शोभा जैसवाल पनि इलामको टुर प्याकेज विक्री हुनेमा विश्वस्त छिन् । एजेन्सीमा पुग्नेहरुले नयाँ ठाउँ र नयाँ रुटको चाहना राख्ने भएकाले इलाम टुर प्याकेज विक्री हुने विश्वास थपिएको हो । ‘मान्छेलाई नयाँ–नयाँ ठाउँ घुम्न मनपर्छ’–इलामको बारेमा जानकारी पाएपछि उनले भनिन्–‘यहाँबाट नजिक पनि भएकाले इलाम जान चाहने धेरै हुन सक्छन् ।’ 
  लामो समयदेखि पर्यटन प्रवद्र्धनमा लागेका हेल्प टुरिजम एण्ड एशोसिएसन फर कञ्जरभेसन अफ टुरिजम (एक्ट) का संयोजक राज बसुल पर्यटनमा इलामको स्कुप रहेको बताउँछन् । पटक–पटक इलाम आइसकेका बसुले बंगाली पर्यटक लोभ्याउने क्यापियन जरुरी रहेको बताए । ‘अहिलेसम्म यहाँका मान्छेलाई इलाम भन्ने थाहै थिएन’–उनले भने–‘पहिलो क्याम्पियन निकै सफल भएको छ, तर यस्तो क्याम्पियन निरन्तर चाहिन्छ ।’ बंगालीय पर्यटकको आकर्षणको केन्द्र मानिने दार्जिलिङ्ग कोलाहल र फोहोर बढ्दै गएकाले पर्यटकको रुची घट्दै गएको कोलकत्ताका पर्यटन ब्यवसायीको भनाई छ । त्यसको फाइदा लिन उनीहरुले इलामलाई सुझाएका छन् । ‘इलामको मात्रै होइन, नेपालको पूर्वी भाग नै समेटेर प्याकेज बनाए अझै राम्रो हुन्छ’–बसुले सुझाए–‘एउटै जिल्लाको मात्र टुर प्याकेज अपूरो हुन सक्छ ।’
  भारतमा पर्यटन प्रचार– प्रसारको काम गर्दै आएको बाणिज्य दूताबासले पनि इलामेलीको अभियानलाई सघाउने प्रतिवद्धता जनाएको छ । बर्षेनि त्यहाँ प्रचार–प्रसारको काम गर्दै आएको दूताबासले नेपालको पूर्वी क्षेत्रको पर्यटकीय क्षेत्रको प्रचारमा सघाउने प्रतिवद्धता जनाएको हो । ‘यहाँ आयोजना हुने क्याम्पियनहरुमा दूताबासलाई पनि स्टल राख्न दिइने गरिएको छ’–दूताबासकी कर्मचारी सीता बस्नेतले भनिन्–‘त्यसमा पर्यटकीय क्षेत्रको जानकारी दिन हामी पनि सहयोग गर्छौ ।’ बंगालमा नेपालमा भएका पर्यटकीय क्षेत्रहरुको प्रचार–प्रसार गर्न त्यहाँका पत्रकारहरुको टोलीलाई नेपालको पूर्वी क्षेत्रको भ्रमण गराइने भएको छ । त्यसमा पनि बाणिज्य दूताबासले सहयोग गर्ने प्रतिवद्धता जनाएको छ भने, कोलकत्ताका पर्यटन ब्यवसायी पनि उत्साहित देखिएका छन् । 
आयोजकहरुले चलो इलाम कार्यक्रम फलदायी भएको बताएका छन् । ‘एकै पटक जाँदा ह्वारका ह्वार पर्यटक आउँछन् भन्ने होइन’–इलाम पर्यटन सरोकार समितिका महासचिव देवी पौडेलले भने–‘यो एउटा शुरुवात हो यसलाई निरन्तरता दिए सफल भइन्छ ।’ चलो इलाम अभियानका क्रममा त्यहाँका नागरिकले चासो देखाएकाले अभियान सफल हुने आयोजकका अध्यक्ष विजय राई बताउँछन् । ‘हामी अभियान लिएर पुगेपछि इलामप्रति चासो राख्ने थुप्रै भेटिए, आउन इच्छा गर्नेहरु पनि छन्’–उनले भने–‘हामीले हाम्रो पर्यटकीय क्षेत्रहरु ब्यवस्थित गर्दै लैजाने हो भने पर्यटनमा राम्रो सम्भावना रहेछ ।’ 
 
; ख्याम भुजेल